06/27/2026
॥ श्री ॥
विज्ञान र वेदको सङ्गम : मृत्यु तपाइको अन्त्य होइन, रूपान्तरण हो
[ Death is not an End, but a Transformation]
[पदार्थ, ऊर्जा, सूचना, चेतना र आत्मा कुनै पनि चिज कहिल्यै मेटिँदैन। मर्दैन।]
मेरा प्रिय मित्रहरू,
युगौँ युग देखि मानिसले लास जलाउने घाटको छेउमा उभिएर एउटै प्रश्न सोध्दै आएको छ। “हामी मर्दा के हुन्छ?” हामीले मृत्युलाई नै आधार मानेर सम्पूर्ण सभ्यता (civilization), विश्वास (belief systems) र डरहरू बनायौँ। तर देखिने कुरा सधैँ सत्य हुँदैन। एउटा बलिरहेको काठलाई हेर । ज्वाला निभ्छ, खरानी (ash) बाँकी रहन्छ, र मनले भन्छ, “गयो।” तर विज्ञान (science) भन्छ त्यहाँ एउटा परमाणु (atom) पनि लोप भएको छैन। सबैले रूप बदले, केही गायब भएन।
यही सरल तथ्यले हामीलाई एउटा गहिरो प्रश्नमा पुर्याउँछ। यदि प्रकृतिमा कुनै पनि वस्तु साँच्चै गायब हुँदैन भने, हामीले मानव जीवन किन गायब हुन्छ भनेर मान्यौँ? आधुनिक भौतिकी (modern physics) ले तीन कुरालाई अटल मान्छ। पदार्थ (matter), ऊर्जा (energy) र सूचना (information) । जसमध्ये कुनै पनि न सिर्जना गर्न सकिन्छ, न नष्ट। अनि अचम्म के भने, हाम्रा ऋषिहरूले यी तीनै सत्यलाई हजारौँ वर्ष अगाडि वैदिक ऋचाहरूमा गाएका रहेछन्।
आज मैले यी तीन सत्यलाई तीन प्रवचनमा, त्यो बारेमा बोल्ने वैदिक ऋचा र विज्ञान दुबैलाई समातेर समातेर तीन प्रवचन लिखित रूपमा तपाइलाई सुनाउने निश्चय लिएको छु। अबको तिन प्रवचनको लागि म संग रहनु होस्। कुनै प्रश्न भए सोध्न अप्ठ्यारो नमान्नु होला। जाने उत्तर दिने छु। नजाने थाहा छैन भन्ने छु।
प्रवचन १
शरीर हराउँदैन: यो त ब्रह्माण्डमा फैलिन्छ
[पदार्थ संरक्षण: Conservation of Matter]
मेरा प्रिय मित्रहरू,
एकपटक फेरि त्यो बलिरहेको काठलाई सम्झौँ। ज्वाला निभ्यो, खरानी (ash) बाँकी रह्यो, र मनले भन्यो “गयो, सबै सकियो।” तर विज्ञान (science) मुस्कुराउँछ। किनभने त्यो काठको एउटा परमाणु (atom) पनि मरेको छैन। कार्बन (carbon) धुवाँ (smoke) भएर आकाश चढ्यो, केही खरानी भएर माटोमा मिल्यो, र भोलि त्यही माटोबाट कुनै बोट उम्रनेछ। काठ गएन। काठले रूप बदल्यो।
अब आफ्नै शरीर (body) तिर हेर। हामी सोच्छौं ! मान्छे मर्दा माटोमा मिल्छ र हराउँछ। तर हाम्रा पुर्खाहरूले हजारौं वर्ष अगाडि नै यो रहस्य देखेका थिए। उनीहरूले मृत्युलाई आँखा चिम्लेर होइन, आँखा खोलेर हेरे — र त्यसमा अन्त्य (end) होइन, यात्रा (journey) देखे। ऋग्वेद (Rigveda) को अन्त्येष्टि सूक्त (funeral hymn) को एउटा ऋचाले मृत्युलाई जसरी वर्णन गर्छ, आधुनिक भौतिकीले पनि त्योभन्दा सुन्दर ढङ्गले भन्न सक्दैन :
सूर्यं चक्षुर्गच्छतु वातमात्मा
द्यां च गच्छ पृथिवीं च धर्मणा ।
अपो वा गच्छ यदि तत्र ते हितम्
ओषधीषु प्रति तिष्ठा शरीरैः ॥
— ऋग्वेद १०।१६।३
अर्थ (meaning): “तिम्रो आँखा (चक्षु) सूर्य (sun) मा गएर मिलोस्। तिम्रो प्राण / श्वास (आत्मा, यहाँ प्राणवायुको अर्थमा) वायु (wind) मा फर्कियोस्। धर्म अर्थात् प्रकृतिको नियम (law of nature) अनुसार तिमी आकाश (द्यौ) र पृथ्वी (earth) तिर जाऊ। यदि तिम्रो हितमा छ भने जल (waters) मा मिल। र तिम्रा शारीरिक अंशहरू ओषधि अर्थात् वनस्पति (plants/herbs) मा गएर स्थापित होऊन्।”
मित्रहरू,
यो ऋचा सुन्दा रौँ ठाडा हुन्छन्। कुनै प्रयोगशाला (laboratory) बिना, कुनै सूक्ष्मदर्शक (microscope) बिना, ऋषिले ठ्याक्कै त्यही भने जुन आज विज्ञानले समीकरण (equations) मार्फत भन्छ।
आँखा सूर्यमा? विज्ञान भन्छ, शरीरको हरेक कण प्राचीन ताराहरू (ancient stars) मा बनेको हो। आँखाको फलाम (iron), हड्डीको क्याल्सियम (calcium) सबै कुनै तारामा पाकेका थिए।
श्वास वायुमा? तिम्रो अन्तिम सास हावामा फैलिन्छ । र कुनै दिन त्यही अणु (molecule) कुनै बच्चाको पहिलो सासमा प्रवेश गर्छ।
शरीर वनस्पतिमा? माटोमा मिलेको देहबाट बोट उम्रन्छ । फूल फुल्छ, फल लाग्छ।
ध्यान देऊ!
ऋषिले “मर्यो” भनेनन्। ऋषिले भने “गच्छ”, अर्थात् “जाऊ”। मृत्यु अन्त्य होइन, गन्तव्य (destination) हो। तिमी सकिँदैनौ । तिमी छरिन्छौ। सूर्यमा, वायुमा, जलमा, वनस्पतिमा। तिमी समग्र ब्रह्माण्ड (universe) बन्छौ।
त्यसैले अर्को पटक चितामा आगो दन्किँदा सम्झ ! त्यो विनाश (destruction) होइन। त्यो त ब्रह्माण्डले आफ्नो सन्तानलाई फेरि आफूभित्र समेट्ने पवित्र क्षण हो। पदार्थ (matter) कहिल्यै मर्दैन । यो त घर फर्किन्छ।